काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणको समयमा नेतृत्व परिवर्तनको बहस सुरु हुनु असंवेदनशील र अनुचित भएको टिप्पणी गरेका छन्।
आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो आगलागीबाट क्षतिग्रस्त घरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति देउवाको उपचार प्रक्रिया अझै पूरा नभएको अवस्थामा नेतृत्व परिवर्तनको कुराले घाउमा नुन छर्ने काम भएको आरोप लगाए।
“कांग्रेसभित्र विभिन्न खाले बहसहरू भइरहेका छन्,” महतले भने, “हाम्रो पार्टी सभापति, जसले लोकतन्त्रको निम्ति जीवनभर संघर्ष गर्नुभयो, उहाँमाथि गम्भीर आक्रमण भयो। उहाँ अझै पूर्ण रूपमा स्वस्थ हुनु भएको छैन। यस्तो संवेदनशील बेलामा नेतृत्त्व परिवर्तनको बहस गर्नु दुर्भाग्यपूर्ण हो।”
उनले पार्टीले आक्रमणको भर्त्सना गरिसकेको स्मरण गराउँदै अहिलेको प्राथमिकता एकता र आत्ममूल्यांकन हुनुपर्ने बताए। उनले नाम नलिए पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उठाइरहेको नेतृत्व परिवर्तनको बहसप्रति असन्तुष्टि प्रकट गरे।
उनले केही नेताहरू नेतृत्व परिवर्तनमार्फत कांग्रेसलाई नयाँ स्वरूप दिनुपर्ने कुरा गरिरहेका बेला, त्यही नेताहरू केही समयअगाडिसम्म देउवासँग नजिक रहेको स्मरण गराए।
“२३ गतेभन्दा चार दिनअघिसम्म उहाँहरू नै सभापतिजीसँग निकट थिए। आज ती साथीहरूकै तर्फबाट प्रश्न उठिरहेको छ। अहिले नेतृत्व परिवर्तनको कुरा गर्नु समय सापेक्ष होइन,” महतले प्रष्ट पारे।
प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीप्रति पनि टिप्पणी गर्दै महतले कांग्रेसले सधैं असंवैधानिक अभ्यासहरूको विरोध गर्दै आएको उल्लेख गरे।
अन्त्यमा उनले कांग्रेस कुनै व्यक्तिको पार्टी नभई संस्था भएकाले कुनै पनि व्यक्ति यसबाट बाहिर जान नसक्ने बताए। “नवपुस्ताले पनि यही संस्था बलियो होस् भन्ने चाहना राखेका छन्,” महतले निष्कर्षमा भने, “अहिले उपचारको समय हो, निर्णयको होइन।”
























