काठमाडौं । नेपाली कांग्रेसले हालको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै यसको विरुद्धमा अन्य दलहरूसँग समन्वय गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले दशैंअघि नै केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ। भदौ २४ मा भएको जेनजी आन्दोलनपछि पहिलोपटक औपचारिक रूपमा बसेको बैठकले पार्टीको नेतृत्व, आन्तरिक संरचना, र हालको राजनीतिक घटनाक्रममाथि समेत छलफल गरेको हो।
बैठकमा सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणको कडा शब्दमा निन्दा गरिएको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमण अमानवीय र बर्बर भएको बताएका छन्।
उनका अनुसार, आक्रमणमा देउवाको टाउकोमा गम्भीर चोट लागेर १२ वटा टाँका लगाइएको छ। ‘उहाँहरू अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,’ उनले बताए। चिकित्सकका अनुसार चोट धारिलो हतियारबाट लागेको हुनसक्ने अनुमान गरिएको छ।
साथै कांग्रेसले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको छ। सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिएअनुसार, देउवा पूर्ण रूपमा स्वस्थ भएपछि मात्र नेतृत्वको विषयमा निर्णय गरिनेछ।
पार्टीले विशेष महाधिवेशन नगर्ने र नेतृत्वका विषयहरूमा देउवा फर्किएपछि मात्र छलफल गर्ने स्पष्ट पारेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड भएको थियो। त्यही क्षतिग्रस्त कार्यालयमा शुक्रबारको बैठक बसेको थियो।
कांग्रेसले देशभरि आफ्ना नेताहरूका निवास र सम्पत्तिमा भएको क्षतिलाई लोकतान्त्रिक मूल्यविरुद्धको कार्य भन्दै विरोध जनाएको छ।
‘लोकतन्त्रका लागि अविचल योगदान गर्नु भएका नेतामाथि भएको आक्रमण केवल व्यक्तिगत हिंसा होइन, लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण हो,’ बैठकमा निष्कर्ष निकालिएको थियो।




















