काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल घट्न नदिने प्रतिबद्धता जनाएका छन्।
सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले निजी क्षेत्रलाई उत्साहित पार्ने गरी काम गर्ने बताएका हुन्। ‘निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं’ मन्त्री खनालले भने, ‘हिजोको तुलनामा परिवर्तनको महसुस गराउने गरी काम गर्नेछौं।’
उनले राजस्व संकलनमा कमी आउन नदिने स्पष्ट पारे। साथै, व्यक्तिगत कामका लागि आफूलाई भेट्न घरमा नआउन आग्रह गर्दै सरकारी कार्यशैलीमा पारदर्शिता र अनुशासन कायम गर्ने संकेत दिए। मन्त्री खनालले आफू कुनै अतिरिक्त सुविधा नलिने घोषणा गर्दै, “म आफैं गाडी चलाएर राष्ट्रपतिकहाँ गएको थिएँ,” भने।
टुक्रे योजना कार्यान्वयन नगर्ने निर्णय
पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले तयारीबिना अघि बढाइने टुक्रे योजनाहरू तत्काल नरोकिने घोषणा गरे। खर्च नियन्त्रण गर्न यस्तो निर्णय लिइएको उनले बताए।
“अब प्राथमिकता युवाका माग पूरा गर्नु र निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नु हो,” खनालले भने, “त्यसका लागि खर्च कटौती जरुरी छ।”
अर्थमन्त्री खनालले हालको परिवर्तन करिब १०० जना युवाको बलिदानबाट सम्भव भएको भन्दै त्यसको सम्मानस्वरूप जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।
उनले भने, “यो अवस्था यति धेरै युवाले ज्यान दिएर ल्याएका हुन्। हामी अर्कै भूमिकामा छौं, तर ती युवाले हामीलाई ठूलो जिम्मेवारी सुम्पिएका छन्। भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने उनीहरूको माग पूरा गर्नु अब हामी सबैको जिम्मेवारी हो।”
भ्रष्टाचार गर्नेलाई कारबाही हुनैपर्ने उनको स्पष्ट भनाइ थियो। “अब जानेरै होस् या नजानेरै, गल्ती गर्ने छुट छैन,” उनले भने, “यो कुनै व्यक्तिगत एजेन्डा होइन, राष्ट्र र भविष्यप्रतिको प्रतिवद्धता हो।”
निर्वाचन र पुनर्निर्माण प्राथमिकतामा
खनालले आगामी ६ महिनाभित्र निर्वाचन गर्नैपर्ने बताएका छन्। साथै, सिंहदरबारसहित सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा तत्काल लाग्नुपर्ने आवश्यकता औंल्याए।
सार्वजनिक सम्पत्तिको बीमा नहुनु दुस्खद भएको भन्दै उनले भविष्यमा यस्तो जोखिमबाट जोगिन आवश्यक नीति र व्यवस्था गरिने बताए । ‘धेरै खर्च सरकारलाई नै पर्छ, त्यसैले अब सचेत भएर अगाडि बढ्नुपर्छ’ उनले भने ।

























