काठमाडौँ । चीनले नेपालकी नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीलाई जिम्मेवारी सम्हालेकोमा शुभकामना व्यक्त गरेका हुन् । वक्तव्यमा भनिएको छ, “चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दछ। चीन र नेपालको मित्रता पुरानो, गहिरो र ऐतिहासिक छ ।”
चिनियाँ विदेश मन्त्रालयले नेपाली जनताको स्वतन्त्र निर्णयप्रति सम्मान जनाउँदै चीनले सधैं नेपाली जनताले रोजेको विकास मार्गको समर्थन गर्ने स्पष्ट पारेको छ ।
वक्तव्यमा भनिएको छ, “हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तको प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रहरूमा आपसी आदानप्रदान तथा सहयोगलाई सुदृढ गर्न र द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउन तत्पर छौं ।”
























