पोखरा । पाेखरकाे लेकसाइडमा प्रदर्शनकारीले आगजनी गरेको भवनभित्रबाट अर्को युवतीको शव जलेको अवस्थामा फेला परेको छ ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनभित्र जलेर हड्डी मात्र बाँकी रहेको अवस्थामा शव भेटिएको हो । प्रहरीले उक्त शव अंशुभरा ग्रुपमा कार्यरत युवतीकै हुन सक्ने आशंका व्यक्त गरेको छ ।
यसअघि पोखराको नयाँबजारस्थित अटो स्वरुममा लागेको आगो निभाउने क्रममा पनि एक युवतीको जलेको शव भेटिएको थियो ।
दुवै शवको पहिचान हुन बाँकी छ । यी दुवै व्यवसायिक भवन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको स्वामित्वमा रहेका हुन् ।
मंगलबार प्रदर्शनकारीले लेकसाइड र नयाँबजारस्थित भवनमा तोडफोड गरी आगजनी गरेका थिए । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार दुवै शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।






















