काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दोक्रममा रहेको छ । एक वर्षको अवधिमा प्रतिऔंस सुनको मूल्य करिब एक हजार डलर बढिसकेको, गत वर्ष सेप्टेम्बरमा प्रतिऔंस करिब २६ सय रहेको सुन यस वर्षको सोही अवधिमा ३५ सय ५० पुगेको छ । एक अध्ययनले विविध आर्थिक र राजनीतिक कारणले सुनको मूल्य सन् २०२५ को अन्तिम त्रैमासिकसम्म औसत प्रतिऔंस तीन हजार छ सय ७५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिसँगै नेपाली बजार पनि प्रभावित भएको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुर्ई लाख १० हजारभन्दा माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थानीय बजारमा सुन दुई लाख १० हजार चार सय पुगेको छ । जुन मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । चाँदी पनि दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । विश्लेषकहरूका अनुसार विश्व राजनीतिक अवस्थाका कारण सुनको मूल्य तत्काल घट्ने सम्भावना देखिएको छैन ।
























