काठमाडौं । नेपाली कांग्रेसले सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति पदका लागि अघि सार्ने निर्णय गरेको छ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई सभापतिको उम्मेदवार बनाउने निर्णय भइसकेको छ। सत्तारुढ नेकपा एमालेले उम्मेदवार नदिने भएको र विपक्षी दलहरूको बहुमत नपुगेकाले खतिवडा निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।
यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए। तथापि, ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादित प्रतिवेदनपछि उनले राजीनामा दिएका थिए। उनको स्थानमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भएकी थिइन्।
न्यौपानेले अहिले राज्य व्यवस्था समितिको सभापति पद सम्हालेकी छन् भने खतिवडा अब सुनुवाइ समितिको सभापति बन्न लागेका हुन्।
सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि (भदौ १९ गते) साँझ ५ बजेका लागि तय गरिएको छ। समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता खुला गरिएको छ।
























