काठमाडौँ । नेपाल प्रहरीले अनावश्यक ध्वनि प्रदूषणबाट हुने स्वास्थ्य तथा सामाजिक असरबारे नागरिकलाई सचेत गराउँदै सतर्क रहन अनुरोध गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले आज एक सूचना जारी गर्दै नागरिकलाई ध्वनि प्रदूषण नगर्न र गराउने कार्यबाट जोगिन अपिल गरेको हो। प्रहरीले विशेषगरी मानवीय क्रियाकलापका कारण हुने ध्वनि प्रदूषणले गम्भीर समस्या निम्त्याउने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रहरीका अनुसार ध्वनि प्रदूषणले गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा तथा बालबालिकाको शारीरिक, मानसिक र शैक्षिक स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै सर्वसाधारणको दैनिक जीवनशैली, सामाजिक सम्बन्ध र नैतिक मूल्यहरूमा पनि प्रतिकूल प्रभाव पार्दछ।
यसलाई न्युनिकरण गर्न प्रहरीले निम्न व्यवहारहरूमा सुधार ल्याउन आग्रह गरेको छ:
– फोन गर्दा आवाज कम गरेर वा हेडफोन प्रयोग गरेर कुरा गर्ने
– राति अबेरसम्म चर्को स्वरमा गफगाफ, गीत-संगीत र नाचगान नगर्ने
– भान्सामा भाँडाकुँडाको ठुलो आवाज ननिकाल्ने
– रातिको समयमा गेट ढकढक्याउने, बेल बजाउने कार्य नगर्ने
– अनावश्यक रूपमा खोकिने वा थुक्ने जस्ता व्यवहारबाट जोगिने
– बिहानै वा राति मोटरसाइकल वा सवारीसाधन ठुलो आवाजमा स्टार्ट नगर्ने
– शौचालय प्रयोग गर्दा आवश्यकता बाहेक फल्स नगर्ने
– सबेरै वा राति प्रेसर कुकरको सिटी नलगाउने
– सडकमा हल्ला नगर्ने
– धार्मिक वा सांस्कृतिक कार्यक्रम गर्दा ध्वनि नियन्त्रण गर्ने
– पालेका जनावर (कुकुर, कुखुरा आदि) बाट छिमेकीलाई अशान्ति नपुग्ने गरी ध्यान राख्ने
प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमन पनि गरिने र नियम उल्लंघन गरेमा जरिवाना तथा कारबाही गरिने चेतावनीसमेत दिएको छ।


























