काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउन सरकार र विपक्षी दलबीच संवादको पहल नहुँदा चिन्ता व्यक्त गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले यसबारे ध्यानाकर्षण गराएका हुन्।
सभामुख घिमिरेले रास्वपा र राप्रपाले उठाएको भिजिट भिसा प्रकरणको छानबिनलगायतका मागहरूबारे लामो समयदेखि सदन अवरुद्ध भइरहँदा सरकारको तर्फबाट संवादको प्रयास नभएकोमा गम्भीर चासो व्यक्त गरे।
उनले भने, “भिजिट भिसा प्रकरण लगायतका विषयमा प्रतिपक्षी सदस्यहरू बैठकमा सहभागी हुनुभएको छैन। सहमतिका लागि म आफैंले आवश्यक पहल र संवादको मार्ग अपनाएको छु। तर, संसद् सुचारु गर्न सरकार र राजनीतिक दलहरूबीच आवश्यक छलफल नहुनु चिन्ताको विषय हो।”
सभामुख घिमिरेले संसदमा बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गरी बहिष्कार गर्ने प्रवृत्ति दीर्घकालीन रूपमा लोकतान्त्रिक प्रणालीका लागि हानिकारक हुने चेतावनीसमेत दिए। “हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहन आवश्यक छ,” उनले भने।
उनले संसदलाई केवल असहमति अभिव्यक्त गर्ने थलो मात्र नभइ राष्ट्रिय सहमति निर्माणको मूल थलोका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
घिमिरेले हाल संसदमा संघीयता सुदृढीकरणसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने प्रक्रियामा रहेको स्मरण गराउँदै, ती विषयमा सबै सांसदहरूको गम्भीर र रचनात्मक सहभागिता आवश्यक रहेको बताए।
“आज प्रधानमन्त्रीले सभामा बोल्ने समय लिनुभएको छ। त्यसैले सबै माननीय सदस्यहरू बैठकमा उपस्थित भई संसदलाई यसको मूल लयमा फर्काउन सघाउनुस्,” सभामुखको अपिल थियो।
अन्त्यमा, उनले सरकार, सत्तापक्ष, प्रतिपक्ष र सबै सांसदहरूलाई संवादको वातावरण बनाउँदै संसदको कार्यसञ्चालन सहज बनाउन आग्रह गरेका छन्।
























