काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि राष्ट्रियताको सवालमा साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपाका सांसद गणेश पराजुलीले बोल्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अविभाज्य भू–भाग भएको स्पष्ट गर्दै प्रधानमन्त्री र संसद्को ध्यानाकर्षण गराए।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालका अविभाज्य भू–भाग हुन् भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी हिमालजस्तै दृढ छ,’ पराजुलीले भने, ‘प्रधानमन्त्रीज्यूको चीन भ्रमण अघि संसद्बाट राष्ट्रियताको विषयमा साझा अवधारणा बनाउनु अत्यावश्यक छ।’
उनले नेपालको भू–भागमाथि अन्य राष्ट्रले नेपालको सहमति बिना गर्ने कुनै पनि सम्झौता वा गतिविधि वैध मान्न नसकिने प्रष्ट पारे। यस्तो कदम शान्तिपूर्ण सहअस्तित्व र आपसी सम्मानको सिद्धान्तविरुद्ध हुने भन्दै राष्ट्रिय स्वाभिमानमाथिको सीधा प्रहार भएको बताए।
सुगौली सन्धि १८१६ बाट नै नेपालको पश्चिमी सिमाना काली नदी तोकिएको स्मरण गराउँदै उनले इतिहास, भूगोल, हाइड्रोलोजिकल प्रमाण, १९५९ को निर्वाचन मतदाता नामावली, १९६१ को जनगणना र प्रशासनिक अभिलेखहरुले लिम्पियाधुरा नेपालको भू–भाग भएको पुष्टि गर्ने उल्लेख गरे।
पराजुलीले संयुक्त राष्ट्रसंघको चार्टरको धारा २(४) को हवाला दिँदै, कुनै पनि राष्ट्रले अर्को राष्ट्रको भू–साम्राज्य वा राजनीतिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नपाउने व्यवस्था स्मरण गराए।
त्यसैगरी, भारत र चीनले लिपुलेकबारे गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाउँदै नेपाल सरकारको मौनताप्रति प्रश्न उठाए। ‘सरकार किन मौन? किन संवेदनशील विषयमा टालटुल गरिरहेको छ?’ भन्दै उनले जनताले स्पष्ट जवाफ खोजिरहेको बताए।
‘प्रधानमन्त्रीले छिमेकी राष्ट्रहरूसँग शिष्टाचारमात्र होइन, दृढ, शान्तिपूर्ण र प्रभावकारी कूटनीतिक संवाद गर्नै पर्छ,’ उनले जोड दिए।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जान लागेका छन्, जसलाई मध्यनजर गर्दै रास्वपाले राष्ट्रियताको सवालमा एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्नुपर्ने माग राखेको हो।

























