काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दामा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान प्रक्रिया सुरु भएको छ । बयानपछि थुनछेक बहस हुनेछ, जसपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने निर्णय हुनेछ। सम्भवतः थुनछेक बहस आजै टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।
पाँडेलाई बुधबार साँझ काठमाडौंको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको थियो। आरोप अनुसार, उनले बेलायतमा बसोबास गर्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत अपशब्द प्रयोग गर्दै गाली गरेका थिए । ती महिला नेपाल आएको बेला प्रहरीमा औपचारिक उजुरी दिएकी थिइन्।
प्रहरीका अनुसार, पाँडे र उजुरी दिने महिला पूर्वपरिचित थिए। आपसी सम्बन्ध बिग्रिएपछि विवाद चुलिएको बताइएको छ।
एउटै प्रकृतिको मुद्दामा एमाले नेता ऐन महरालाई हाजिरी जमानीमा छाडिएको तर पाँडेलाई हिरासतमा राखिएको भन्दै आलोचना सुरु भएपछि मुद्दा फास्ट ट्रयाकमार्फत दर्ता गरिएको स्रोतको दाबी छ।
पर्यावरणविद्का रूपमा परिचित पाँडेले २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। पार्टी सरकारमा रहेको बेला २०८० सालमा उनी राष्ट्रिय योजना आयोगका सदस्य समेत नियुक्त भएका थिए।
























