काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्य बनाउने तयारी गरिएको छ । सोबारे जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दिनेछन् ।
यसअघि कर्मचारीको कुलिङ पिरियडसम्बन्धी विवादमा तानिएपछि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए। खतिवडाको राजीनापछि ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको छ । न्यौपाने यसअघि सुनुवाइ समितिको सभापति थिइन्।
उनी भदौ १० गतेदेखि नयाँ भूमिकामा पुगेपछि सुनुवाइ समिति सभापतिविहीन बनेको छ। प्रतिनिधि सभा नियमावली अनुसार, विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधानअनुसार, भदौ २५ भित्रमा सुनुवाइ समितिको नयाँ सभापति चयन गरिनु पर्नेछ।
यद्यपि, संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको नियम २५ अनुसार, सभापतिको राजीनामा दिइएपछि पद रिक्त हुन्छ भन्ने व्यवस्था भए पनि, उक्त पद कसरी पुनः पूर्ति गर्ने भन्ने विषयमा स्पष्ट प्रावधान छैन।
तर, नियम ४४ मा यदि संयुक्त समितिको कार्यसञ्चालन नियमावलीमा कुनै विषय उल्लेख नभएमा प्रतिनिधि सभा नियमावली बमोजिम अघि बढ्न सकिने व्यवस्था छ। त्यसअनुसार, अब सुनुवाइ समितिको सभापति चयन प्रक्रिया प्रतिनिधि सभा नियमअनुसार अघि बढ्नेछ । खतिवडालाई सभापति बनाउन अहिले सदस्य नियुक्त गर्न लागिएको स्रोतले बताएको छ ।
























