काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान एक स्कुटर बससँग ठोक्किँदा दुई युवाले ज्यान गुमाएका छन्।
बिहान करिब पौने ३ बजेतिर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर जडिबुटीको आकासे पुल नजिकै पार्किङ गरिएको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक शिरिस पौडेल (२२), जो पश्चिम नवलपरासी सुनवल नगरपालिका–१ घर भई हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए, र पछाडि सवार नितेश नेपाल (२३), जो काभ्रेको पाचँखाल नगरपालिका–२ होक्से निवासी थिए, दुबैको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

























