दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-६ स्थित रमिटेडाँडामा गएराति दुई मोटरसाइकल आपसमा ठोकिँदा दुइ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति २४ वर्षीय शिरिस बस्नेत र २६ वर्षीय श्याम बहादुर खत्री छन्।
दुर्घटना गएराति करिब साढे ९ बजे बा.५३ प ८८९९ र बा.प्र.०२-०३४ प ३२४२ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका बस्नेत र खत्रीको उपचारको क्रममा चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर श्रीराम तिमल्सिनाले जानकारी दिए।
शिरिस बस्नेत भीमेश्वर नगरपालिका–५, माटीका स्थायी बासिन्दा थिए। उनी यस वर्ष चैतमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) गठबन्धनका तर्फबाट सभापतिमा निर्वाचित भएका थिए।
बस्नेतको मोटरसाइकलमा सवार अर्का युवक, बैतेश्वर गाउँपालिका–३ मिर्गेका खत्रीको पनि घटनास्थल नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अर्का मोटरसाइकल (बा.प्र.०२-०३४ प ३२४२) चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इन्सपेक्टर तिमल्सिनाले बताएका छन्।

























