काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनबारे निर्णय गर्न नेपाली कांग्रेसले आज अनौपचारिक बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान १० बजेपछि बैठक बस्ने तय भएको छ।
बैठकमा कांग्रेसका दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्।
सभापति पदमा रहेका सांसद रामहरि खतिवडाले कुलिङ पिरियडसम्बन्धी विवादका कारण गत साउन २८ गते राजीनामा दिएपछि उक्त पद खाली भएको हो। प्रतिनिधिसभाको नियमावलीअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता रहेकाले आजै निर्वाचन गर्ने तयारी भएको छ। सभामुख देवराज घिमिरे कांग्रेसबाट उम्मेदवारको नाम पर्खिरहेका छन्।
यसै बैठकमा रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनसम्बन्धी विषयमा पनि छलफल हुने सम्भावना रहेको एक नेताले जानकारी दिएका छन्।
























