बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र निर्माण र बिक्रीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।
चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेललाई रुपन्देही प्रहरीले बुधबार चितवनबाट पक्राउ गरी अनुसन्धानका लागि बुटवल ल्याएको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक रहेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा बस्न गएका बेला भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई त्रिभुवन विश्वविद्यालयसहित नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित पक्राउ गरिएको थियो ।
यादवबाट प्राप्त बयानका आधारमा कँडेललाई पक्राउ गरिएको एसपी क्षेत्रीले जानकारी दिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।

























