काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको बताउँदै त्यसको सुधारमा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कोइरालाले देशलाई अघि बढाउन सकारात्मक सोचका साथ सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, “अहिले देशको राजनीतिक मात्रै होइन, सामाजिक अवस्था पनि स्खलनतर्फ उन्मुख छ । यो अवस्थाबाट उकास्ने जिम्मा विद्यालयहरू, राजनीतिज्ञहरू र कर्मचारीहरूले लिनुपर्छ ।”
कोइरालाले लोकतन्त्रमा शिक्षाको भूमिका सर्वोपरि रहेको उल्लेख गर्दै शिक्षित समाज बिना समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने धारणा राखे । “लोकतन्त्रमा शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ । एक शिक्षित महिलाले पूरै परिवारलाई शिक्षित बनाउँछिन्,” उनले भने ।
उनले हालको प्रणालीमा नीति निर्माणदेखि कार्यान्वयनसम्म जिम्मेवार पक्षहरू कतै न कतै चुकेको स्वीकार गर्दै सुधारको खाँचो रहेको बताए । “नियम, ऐन र कानून बनाउनेहरू, सरकारमा बस्ने साथीहरू मात्रै होइन, पत्रकारिता क्षेत्रसमेत कतिपय ठाउँमा चुकेको देखिन्छ,” उनले स्पष्ट पारे ।
सार्वजनिक विद्यालयहरूको प्रवर्द्धन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै कोइरालाले शिक्षा नै देश चिनाउने माध्यम भएकाले यसमा प्राथमिकता दिनुपर्ने तर्क गरे । “शिक्षाले नै विश्वसामु राष्ट्रलाई चिनाउन सक्छ, त्यसैले शिक्षामा पहिलो प्राथमिकता दिनुपर्छ,” उनले भने ।

























