काठमाडौं । लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने भारत र चीनको निर्णयप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गम्भीर आपत्ति जनाएको छ । पार्टीले नेपालको पूर्वसहमति तथा परामर्शबिना भएको निर्णयलाई राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथिको गम्भीर उपेक्षाका रूपमा चित्रण गरेको छ ।
शुक्रबार जारी विज्ञप्तिमा पार्टीले भनिएको छ, “नेपालको स्पष्ट आपत्तिपछि पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्याउनु दुःखद मात्र होइन, छिमेकी देशहरूको हेपाहा प्रवृत्तिको परिचायक हो।”
नेसपाले सीमा विवादजस्ता संवेदनशील कूटनीतिक विषयमा नेपाल सरकारले प्रभावकारी, सशक्त र परिणाममुखी पहल गर्नुपर्नेमा जोड दिएको छ। साथै, यस विषयको दीर्घकालीन समाधानका लागि नेपालले भारत, चीन र नेपालबीच समानता, आपसी सम्मान र विश्वासमा आधारित त्रिदेशीय सहमतीय ढाँचा निर्माण गर्न प्रस्ताव गरेको छ।
पार्टीले सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको प्रसंग उल्लेख गर्दै, त्यसबेला पनि नेपाल सरकारले कूटनीतिक असहमति जनाएको स्मरण गराएको छ।
यस विषयमा नेपाल सरकारको कूटनीतिक कमजोरीप्रति पनि आलोचना गर्दै विज्ञप्तिमा भनिएको छ, “सरकारको निष्क्रियता र दृढताको अभावले सीमा विवाद झनै जटिल बनाएको छ।”
विज्ञप्तिमा नेपाल कुनै पनि शक्तिको चेपुवामा पर्ने राष्ट्र नभएको उल्लेख गर्दै, दुई ठूला अर्थतन्त्रबीच पुलका रूपमा नेपालको भूमिका अझ सबल बनाउनुपर्ने धारणा व्यक्त गरिएको छ।
पार्टी प्रवक्ता कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा सरकारलाई स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न आवश्यक कूटनीतिक र राजनीतिक कदम तत्काल चाल्न आग्रह गरिएको छ ।
























