काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न विदेश भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दा उठाउन सरकारलाई सुझाव दिएका छन् ।
हालै भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिलाई लिएर विवाद चर्किरहेको बेला उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शर्माले यो विषयमा सरकारलाई ६ बुँदे सुझावसमेत दिएका छन्।
उनका अनुसार, नेपालको भू–भागसँग सम्बन्धित विषयमा दुवै छिमेकी भारत र चीनलाई ऐतिहासिक तथ्यका आधारमा विश्वासमा लिनु आवश्यक छ। साथै, उनले सर्वपक्षीय/सर्वदलीय बैठकको आह्वान गर्न माग गरेका छन्, जसबाट विकसित घटनाक्रममा साझा दृष्टिकोण र राष्ट्रिय एकता प्रकट गर्न सकिने बताएका छन्।
शर्माले दिएका ६ प्रमुख सुझाव यसप्रकार छन्:
१) सर्वदलीय / सर्वपक्षीय बैठक सरकारको आह्वानमा ।
२) बैठक मार्फत विकसित घटनाक्रममा हाम्रो एक्यवद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण ।
३) हाम्रो संसदले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको `चुच्चे नक्सा´ प्रती देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता ।
४) भारत र चीन बिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमति उपर नेपालले पठाएको कुटनैतिक नोट समेत स्मरण गराउँदै पछिल्लो सहमति उपर पुन कुटनैतिक नोट ।
५) ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषय प्रवेश ।
६) नेपाल-भारत सिमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समुह EPG (Eminent Persons Group ) को ७ बर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरु समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव ।
























