झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत हो ।
कार्यालयले चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। “साउन महिनामा ३८ करोड ३ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने।
यसमा आयकरबाट ७ करोड ८३ लाख ६२ हजार रुपैयाँ, ब्याजबापत १ करोड ५१ लाख ६१ हजार रुपैयाँ,, मूल्य अभिवृद्धि करबाफत १४ करोड ४५ हजार रुपैयाँ, र अन्तःशुल्कबापत ६ करोड ८३ लाख ७० हजार रुपैयाँ, राजस्व सङ्कलन भएको हो ।
गत आव २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार रुपैयाँ, राजस्व सङ्कलन भएको थियो । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताए । (रासस)
























