काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने सत्तारुढ गठबन्धनको तयारी तीव्र भइरहेका बेला उनी भने अमेरिकामा रहेको खुलेको छ।
संसद सचिवालय स्रोतका अनुसार उपसभामुख राना साउन ३० गते १० दिने व्यक्तिगत भ्रमणमा अमेरिका गएकी हुन्।
उपसभामुख रानामाथि अमेरिकी दूतावासमा आफू र अन्य चारजनाको भिसा अन्तर्वार्ताका लागि समय माग्दै पत्र लेखेको प्रकरणले नैतिकता र पदीय मर्यादामाथि प्रश्न उठाएको भन्दै सत्ता गठबन्धनले संविधानअनुसार पदमुक्त गर्ने तयारी थालेको हो ।
उनीविरुद्धको हटाउने प्रस्तावको चर्चा सुरु भएसँगै उनकी मातृ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा तरंग पैदा भएको छ। पार्टीका शीर्ष नेताहरू अहिले अनौपचारिक छलफलमा जुटिरहेका छन्। यद्यपि, अहिलेसम्म औपचारिक बैठक भने डाकिएको छैन।
एक वरिष्ठ नेताका अनुसार उपसभामुख हटाउने तयारीबारे मिडियाबाट थाहा पाएपछि पार्टी कार्यालयमा अनौपचारिक रुपमा छलफल भइरहेको छ।
























