काठमाडौं, साउन ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट निष्कासित (डिपोर्ट) भएका छन्।
विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्द्धन निकाय (ICE) को हिरासतमा पाँच महिना बिताएका उनी साउन २२ गते राति भारत हुँदै एयर इन्डियाको उडान एआई २११ मार्फत काठमाडौँ आइपुगेका थिए।
थापा सन् २०२५ मार्च ११ मा पेन्सिलभेनिया पुग्नेबित्तिकै विमानस्थलमै पक्राउ परेका थिए। त्यसपछि ‘इमिग्रेसन जज’को आदेशअनुसार उनलाई नेपाल डिपोर्ट गरिएको हो ।
नेपाल आएपछि अध्यागमन विभागले आवश्यक प्रक्रिया पुरा गरी उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । ब्युरोले प्रारम्भिक अनुसन्धानस्वरूप जानकारी सम्बन्धी फारम भराएर उनलाई छाडेको बताइएको छ ।
थापा रास्वपाका सभापति रवि लामिछानेका निकट मानिन्छन् र उनी रविकै सिफारिसमा पार्टीको केन्द्रीय सदस्य मनोनीत भएका थिए ।
म्याग्दी स्थायी घर भएका थापा विगतमा अमेरिकी न्यायालयबाट फर्जी परिचयपत्र र चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको अभियोगमा दोषी ठहर भई जेल सजायसमेत भोगिसकेका छन् ।
उनको ग्रीनकार्ड समेत रद्द गरी अमेरिका सरकारले नेपाल फिर्ता पठाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला, थापाले फेसबुकमार्फत उनीहरूलाई कालो झण्डा देखाउने र जुत्ताको माला लगाउने चेतावनीसमेत दिएका थिए ।
























