काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना तथा प्रविधिको प्रयोगले जनतालाई छिटो, सजिलो र पारदर्शी सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालमार्फत दैनिक लाखौं मानिसहरू डिजिटल प्लेटफर्ममा संलग्न भइरहेको उल्लेख गरे।
उनले भने, “डिजिटल प्रविधिहरू शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई सेवा र सरकारी सेवा लगायतका क्षेत्रहरूमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। यी प्रविधिहरूको उपयोगलाई अझ प्रभावकारी र जिम्मेवार ढंगले गरिनु आवश्यक छ।”
देउवाका अनुसार इन्टरनेट पहुँच, मोबाइल बैंकिङ, अनलाइन फारम, डिजिटल स्वास्थ्य र शिक्षा सेवाले जनजीवनलाई सरल, समावेशी र गरिमायुक्त बनाउँदै लगेको छ।
उनले थपे, “नेपाली कांग्रेसको नेतृत्वमा बनेका सरकारहरूले ल्याएका दूरसञ्चारसम्बन्धी नीतिहरूले देशका दुर्गम बस्तीहरूमा समेत प्रविधिको पहुँच पुर्याएका छन्। यद्यपि, प्रविधिको क्षेत्रमा अझ धेरै गर्न बाँकी नै छ।”
देउवाले प्रविधिको सकारात्मक, सचेत र नैतिक प्रयोगले व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा योगदान पुर्याउने उल्लेख गरे। उनले नेपाली कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा रहेको स्पष्ट पारे।
























