काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेससँगको वर्तमान राजनीतिक समीकरण २०८४ सालको निर्वाचनसम्म कायम रहने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा राजनीतिक र नीतिगत स्थिरता कायम गर्न तथा बिग्रिएको अर्थतन्त्रलाई सुधार्नका लागि नै संसद्का दुई ठूला दल मिलेर सरकार बनाएको स्पष्ट पारे।
ओलीले सरकारको गणित बलियो रहेको र यसलाई अस्थिर बनाउन खोज्ने प्रयासको आलोचना गरे। उनले भने, “संसद्मा कांग्रेस र एमालेको मात्रै पनि भारी बहुमत छ। यसमा अन्य दलहरू पनि सहभागी छन्। यस्तो बलियो जगमा उभिएको सरकार आजै वा भोलि ढल्छ भनेर हल्ला पिट्नु अस्थिरताको पक्षपोषण गर्नु हो।”
सदनलाई सामाजिक सञ्जालको ‘कन्टेन्ट’ उत्पादन गर्ने थलो नबनाऔँ
प्रधानमन्त्री ओलीले संसद्को बहसलाई अर्थहीन विषयमा विषयान्तर गरिएकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, “सदनमा राष्ट्रिय आवश्यकताका विषयमा भन्दा पनि सामाजिक सञ्जालका लागि कन्टेन्ट उत्पादन गर्ने दुष्प्रयास भइरहेको छ।”
उनले सरकारले गरेका सकारात्मक काममाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यसलाई गाली, निन्दा र आरोपमा सीमित राख्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले युवाहरूलाई भरोसा प्रदान गर्न र देशलाई अगाडि बढाउन सकारात्मक बहस आवश्यक रहेकोमा जोड दिए।

























