काठमाडौं । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
कूल १०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । उनले जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिए ।
प्रवर्द्धक कम्पनी र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको उनको भनाइ छ । प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन । दोस्रो पटकको सूचनामा २ कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीई/एएनके जेभी योग्य भएको हो ।
यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार, नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने छन् । आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्नेछ ।
आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ भने स्वपुँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णाली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ ।
नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला नेपालको पानी जनताको लगानी भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल नेपालगन्जबाट २३८ किलोमिटर टाढा रहेको छ । आयोजनाको बाँध स्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा पर्दछ । जहाँ २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेजको प्रस्ताव गरिएको छ । आयोजनाको क्याचमेन्ट एरिया ६३३.८३ वर्ग किलोमिटर रहेको छ ।
यस आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिकाको इल ४ मा भूमिगत रहने गरी डिजाइन गरिएको छ । जसको लम्बाइ ७७.८० मिटर, चौडाई १४ मिटर, मोटाई ३३.४५ मिटर रहनेछ । त्यहाँ ३५.५ मेगावाट क्षमताको तीन वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहनेछ ।
विद्युत् उत्पादन गरिसकेपछि पानीलाई ३३० मिटर लामो ५ मिटर चौडाई र ५ मिटर अग्लो टेलरेसमार्फत पुनः जगदुल्ला नदीमा नै पठाइनेछ । उत्पादित विद्युत्लाई १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सवस्टेशनमा जोड्ने गरी डिजाइन गरिएको छ ।
कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी ७ अर्ब १० करोड रुपैयाँ छ ।
कम्पनीको संस्थापक सेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपाकिाको १ प्रतिशत रहेको छ ।
हालसम्म कर्णाली प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश नगरेको अवस्थामा जगदुल्ला निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा २०८० वैशाख २७ गते हस्ताक्षर भएको हो ।
आयोजनाले ६२३.३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो । (रासस)
























