काठमाडौं, साउन २७ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीमा नेतृत्व परिवर्तनको कुनै आवश्यकताको महसुस नभएको स्पष्ट पारेका छन् ।
उनले भने, “एमालेको नेतृत्व परिवर्तन आवश्यक छ कि छैन भन्ने कुरा हामीले महसुस गर्नुपर्छ। तर अहिले पार्टीभित्र त्यसको कुनै अनुभूति छैन। यस विषयमा हामीले मोही माग्ने, ढुंग्रो लुकाउने शैलीमा चल्न आवश्यक छैन।”
रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउने उद्देश्यले विधान संशोधन गरिएको थियो। उनले भने, “हाम्रो अध्यक्ष ओलीलाई नै फेरि नेतृत्वमा ल्याउने सोचसहित हामीले विधान संशोधन गरेका हौं।”
उनले थप स्पष्ट पारे कि दुई कार्यकालको सीमाको व्यवस्था १०औं महाधिवेशनमै हटाइसकिएको हो। “दुई कार्यकालको सर्त हामीले ९औं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकमै हटाउने प्रस्ताव अघि सारेका थियौं, र त्यसलाई १०औं महाधिवेशनले औपचारिकता दियो,” रिजालको भनाइ थियो।
उनका अनुसार एमाले नेतृत्वमा निरन्तरता आवश्यक छ भन्ने धारणा पार्टीभित्र बलियो रूपमा विद्यमान छ।
























