काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलताको विषय कुनै एक राजनीतिक दलको मात्र नभई समग्र समाजकै साझा सरोकार भएको बताएका छन् ।
आइतबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले लैंगिक संवेदनशीलता सामाजिक रुपान्तरणको अपरिहार्य अङ्ग भएको बताए।
“यो कुनै विशेष दलको मात्र विषय होइन। यदि हामी सबै मिलेर यसमा संवेदनशील बन्न सक्यौं भने मात्रै सुरक्षित, सम्मानजनक र समावेशी समाज निर्माण सम्भव छ,” देउवाले भने।
उनले लोकतान्त्रिक समाजवादसँग आबद्ध राजनीतिक दलहरू, नेताहरू र सामाजिक आन्दोलनहरूबीच सहकार्य र समन्वयको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धार बनाउने सम्भावना रहेको पनि बताए।
“लैंगिक संवेदनशीलता जस्ता महत्त्वपूर्ण सुझावहरूलाई कार्यान्वयनमा लैजान कांग्रेस पार्टीले आवश्यक पहल गर्नेछ,” देउवाले थपे।
























