काठमाडौं, साउन २३ । खाडी मुलुकतर्फ अवैध रूपमा घरेलु कामदारका रूपमा जान लागेका ४० नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरी नेपाल फर्काइएको छ ।
कुवेत, साउदी अरब, ओमान, दुबईलगायत खाडी मुलुक जान लागेका ती महिलालाई दिल्लीबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा, टोकराज पाण्डेका अनुसार, उनीहरूलाई बिहीबार साँझ प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाई गाडीमार्फत काठमाडौँ पठाइएको हो।
उनीहरू दिल्लीस्थित महिपालपुरका होटलहरूमा बसोबास गरिरहेका थिए । नेपाली दूतावासको समन्वयमा भारतीय प्रहरी र ‘किन इण्डिया’ संस्थाको सहयोगमा बुधबार राति ती महिलाको उद्धार गरिएको पाण्डेले बताएका छन् ।
दूतावासका अनुसार उद्धार गरिएका ६३ जनामध्ये २३ जनाले आवश्यक कागजात पूरा गरेका कारण युरोपका विभिन्न देशतर्फ जान अनुमति दिइएको छ। बाँकी ४० जनालाई नेपाल फर्काइएको हो।
नेपाल फर्काइएकामध्ये ३१ जना कुवेत, ४ जना ओमान, ४ जना दुबई र १ जना साउदी जान लागेका थिए। उनीहरू नेपालका २४ जिल्लाबाट दलालको सञ्जालमार्फत दिल्ली पुर्याइएका थिए।
यसअघि पनि साउन ८ गते दिल्लीबाट ४७ जना नेपाली महिलालाई फर्काइएको थियो। ती सबै भिजिट भिसामा कुवेत जान लागेका थिए र उनीहरूले दलाललाई ठूलो रकम बुझाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।




















