काठमाडौं, साउन २२ । सोलुखुम्बुमा एक ५९ वर्षीया असक्त महिलामाथि बलात्कार गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँ सभापति पक्राउ परेका छन् ।
रास्वपाको लिखुपिके गाउँपालिकाका सभापति तथा लिखुपिके-२ निवासी ४५ वर्षीय रामचन्द्र बस्नेतलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरी सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन्।
बस्नेतमाथि २०८१ साउन ६ गते गाउँकै असक्त महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेको थियो। उजुरीपछि उनी फरार रहेका थिए।
प्रहरीले उनलाई सोमबार काठमाडौंबाट पक्राउ गरी सोलुखुम्बु लगेको हो। अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी कुँवरले जानकारी दिए।

























