काठमाडौं, साउन २१ । काठमाडौंको हनुमानढोका क्षेत्रस्थित नेपाल प्रहरीको पुरानो भवन भत्काइने भएको छ। भूकम्पपछिको संरचनागत जोखिमका कारण जिर्ण बनेको सो भवनमा रातो स्टिकर समेत टाँसिएको थियो ।
भवन भत्काउने निर्णय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाबीचको छलफलपछि गरिएको हो। छलफलमा ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी पनि सहभागी थिए।
२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवन हटाएर, त्यस स्थानमा मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने सहमति भएको मेयर शाहको सचिवालयले जनाएको छ। हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र परम्परागत सम्पदाको संरक्षण गर्न पोखरी पुनर्निर्माण प्राथमिकतामा राखिएको बताइएको छ।
मेयर शाहले भने, “हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्व जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परा कायम राख्न पोखरी पुनर्निर्माण आवश्यक छ।”
छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको नाममा रहेको जग्गामा ट्राफिक टावर र अन्य आवश्यक भवन निर्माणबारे पनि चर्चा भएको थियो। यसका लागि नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई लेआउट डिजाइनको जिम्मा दिइएको छ।
साथै, काठमाडौं महानगर–२७ को कार्यालयलाई हाल भोटाहिटीस्थित साइबर ब्युरोको भवनमा सार्ने विषयमा समेत छलफल भएको छ। साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माणाधीन अवस्थामा रहेकोले त्यसको सम्पन्नपछि स्थानान्तरण प्रक्रिया अघि बढाइनेछ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका लागि उपयुक्त जग्गा पहिचान गरी भवन निर्माणका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ।
आईजीपी थापाले भने, “सुरक्षा र सेवामा सुधार ल्याउन बलियो पूर्वाधार आवश्यक छ। महानगरसँगको सहकार्यले हाम्रा योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुग्छ।”

























