काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्नेमा पार्टीको स्पष्ट धारणा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले भिजिट भिसा काण्डमा अख्तियार र संसदीय छानबिन समिति सक्रिय रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रक्रियाबाहिर गएर अनावश्यक विरोध जनाइरहेको टिप्पणी गरे।
उनले पछिल्ला पाँच गृहमन्त्रीहरूको कार्यकालको तथ्याङ्क विश्लेषण गर्दा रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री रहेको छोटो अवधिमा नै सबैभन्दा धेरै नेपालीहरू भिजिट भिसामा विदेश गएका तथ्य देखिएको बताए।
शर्माले भने, “भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईंकै सभापति गृहमन्त्री हुँदा गएका रहेछन् । अब के त्यसैको आधारमा भन्न मिल्छ कि सबैभन्दा धेरै मानव तस्करी उहाँकै पालामा भयो ?”
उनले रास्वपालाई आवेग, अराजकता र हठका आधारमा राजनीति नगर्न आग्रह गर्दै, संयमित र प्रक्रियामुखी ढंगबाट अघि बढ्न सुझाव दिए ।
























