काठमाडौं ,साउन २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडसम्बन्धी विवादमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिई राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार, हिजो बसेको रास्वपाको सचिवालय बैठकमा उक्त निष्कर्षमा पुगिएको हो। निजामती सेवा विधेयकको मस्यौदामा कुलिङ अफ पिरियड सम्बन्धी प्रावधान कमजोर पारिएको विषयमा संसदीय छानबिन समिति गठन गरिएको थियो। सो समितिले हिजो बुझाएको प्रतिवेदनमा सभापति खतिवडाले समन्वयमा कमजोरी देखाएको उल्लेख गर्दै उनी नैतिक रूपमा जिम्मेवार रहेको ठहर गरिएको छ।
त्यही प्रतिवेदनको आधारमा रास्वपाले खतिवडाले पदबाट राजीनामा दिनु उचित हुने निष्कर्ष निकालेको हो।
साथै बैठकमा रास्वपाभित्र पनि कुलिङ अफ पिरियड लागू गर्ने विषयमा छलफल भएको छ। सरकारी सेवाबाट निवृत्त भएको दुई वर्षसम्म कुनै पनि व्यक्तिलाई पार्टी सदस्य नबनाउने व्यवस्था विधानमा समावेश गर्ने प्रस्ताव आएको छ। प्रवक्ता झाले भने, “समयाभावका कारण छलफल सम्पन्न हुन सकेन, अर्को बैठकमा विस्तृत छलफलपछि निर्णय हुनेछ।”
त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्चपदस्थ सम्मानित व्यक्तिहरूलाई पनि पार्टीमा नल्याउने प्रस्ताव आएको जनाएको छ।
बैठकले रुपन्देही उपनिर्वाचन लड्नका लागि समानुपातिक सूचीबाट नाम हटाउने निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
























