धनगढी, साउन २० । महाकाली नदीमा पानीको बहाव खतराको सीमाभन्दा माथि पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ।
मंगलबार बिहानदेखि नदीमा जलसतह एक लाख २४ हजार क्युसेक पुगेपछि जोखिम बढेको भन्दै यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।
महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुग्दा खतराको सूचक मानिन्छ। यद्यपि तराई क्षेत्रमा अत्यधिक वर्षा नभए पनि पहाडी भेगमा निरन्तर परेको वर्षाका कारण नदीमा बहाव उल्लेख्य रूपमा बढेको हो।
सुरक्षालाई मध्यनजर गर्दै शारदा ब्यारेज हुँदै सञ्चालन हुने चारपाङ्ग्रे सवारी साधनको आवागमन अनिश्चितकालका लागि रोकिने प्रहरीले जनाएको छ।

























