काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै साउन २१ देखि २७ गतेभित्रमा आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिनु पर्ने जनाएकोछ ।
सो निर्वाचनका लागि आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुने कार्यतालिका छ ।
त्यस्तै असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
२०७९ को निर्वाचनमा एमालेको सहयोगमा राप्रपाका दिपक बोहोरा सो क्षेत्रमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
























