काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ४७.९२ अंकले घटेको नेप्से यसदिन ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा पुगेको हो।
नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३१८ स्क्रिप्सको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँमा खरिदबिक्री भए। बुधबार १६ अर्ब ४४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावर र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९७ प्रतिशतले बढ्दा ग्रिन डेभलपमेन्ट बैंकको ९.९२ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.८६ प्रतिशतले बढ्यो।
१ अर्ब ३३ करोड मूल्य बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। नेपाल रिइन्स्योरेन्सले ७५ करोडको सेयर कारोबार गर्दा हिमालयन डिस्टिलरीको ६९ करोड,शिवम् सिमेन्टको ६७ करोड र लुम्बिनी विकास बैंकको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ५२ वटा स्टक्सको मूल्य बढ्दा १९८ वटाको घट्यो। फाइनान्सबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।























