
हेटौडा, साउन १५ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज दिउँसो १ बजेका लागि तय भएको थियो । तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेको भन्दै काठमाडौं हिडेपछि सपथ रोकिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि प्रदेश प्रमुख देवकोटा आज बिहानै काठमाडौं गएकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथग्रहण कार्यक्रम स्थगन गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । लामा संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन् । उनलाई मुख्यमन्त्रीबाट हटाउन पार्टीभित्रैबाट दलको नेताबाट हटाइएको हो । वानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । त्यसका लागि लामालाई राजीनामा दिन भनिए पनि उनले मुख्यमन्त्री बन्न दलको नेता नै हुनुपर्ने आवश्यकता नभएको दावी गर्दै राजीनामा नदिने अडान राखेका छन् ।
उता लामाले राजीनामा नदिए कानूनी प्रक्रियाबाटै हटाइने वानियाँले चेतावनी दिएका छन् । कांग्रेसभित्रको विवाद र मुख्यमन्त्री परिवर्तनको तयारी भएपछि नेकपा एमाले वागमतीले हिजै नयाँ मन्त्रीहरुको सपथ रोक्न मुख्यमन्त्री लामालाई आग्रह गरेको थियो ।


























