विराटनगर, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति भइसकेका व्यक्तिहरूले सक्रिय राजनीतिमा नफर्कनु नै उपयुक्त हुने टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विचार राखेका हुन् ।
“संविधानले फर्कन पाउँछन् भनेको छ, तर मलाई सोध्नुहुन्छ भने नफर्कनु नै राम्रो,” कोइरालाले भने, “तर फर्कन चाहनेलाई कसैले रोक्न सक्दैन ।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता बारे उठेको प्रश्नमा उनले प्रष्ट पारे कि त्यो सामान्य राजनीतिक भेट मात्र थियो । “राजनीति गरिरहेकाले विभिन्न नेतासँग भेट भइरहन्छ। म प्रधानमन्त्री ओलीसँग पनि भेट गर्थें, त्योबेला कसैले केही भनेनन्,” उनले भने, “राष्ट्रपतिजी हुँदा पनि भेटेको थिएँ, अहिले पनि भेटेको हुँ – लुकेर होइन, खुलेर ।”
संवैधानिक परिषद विधेयक फर्काइएकामा चिन्ता
कोइरालाले राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता पठाइनु लोकतन्त्रका लागि खतरनाक कदम भएको बताए ।
“संसदले पारित गरेको विधेयक राष्ट्रपतिले फिर्ता गर्नु गम्भीर विषय हो । संवैधानिक परिषद्को संरचनामा संसदीय बहुमतको धज्जी उडाउने गरी निर्णय लिन खोजिएको छ,” उनले भने।
सरकारलाई ०८४ सम्म टिकाउन चाहन्छु, तर…
कोइरालाले वर्तमान सरकार २०८४ सालसम्म टिक्नुपर्छ भन्ने चाहना व्यक्त गरे। तर उनले सरकार राम्रोसँग चल्न नसकेको गुनासो पनि गरे । “सरकार ०८४ सम्म जाओस् भन्ने हाम्रो चाहना हो। तर यसले राम्रोसँग काम गर्न सकेको छैन,” कोइरालाले स्पष्ट पारे।
“सुशासनको सवालमा मैले अरुभन्दा बढी आवाज उठाएको छु – चाहे त्यो भ्रष्टाचार होस् वा लिचीबारी प्रकरण। राजनीति गर्नेमा नैतिकता हुनु अनिवार्य हो,” उनले जोड दिए ।
सरकार परिवर्तन गर्नुको कारण जनतासामु प्रस्ट पार्न सक्नुपर्ने कोइरालाको धारणा छ। “सरकार किन फेरियो भन्ने कुरा जनतालाई बुझाउन सक्नुपर्छ, त्यतिबेला मात्र हामी सफल ठहर्छौं,” उनले भने ।
भूमिसम्बन्धी विधेयक समितिबाट छलफल होस्
भूमिसम्बन्धी विधेयक संसदमा प्रस्तुत भए पनि त्यसलाई संसदीय समितिमा पठाएर छलफल गरिनु पर्ने कोइरालाको मत छ ।
“एमालेले विधेयक आजै पास गरौं भन्यो, तर हाम्रा नेताहरूले संशोधन दर्ता गरिसक्नु भएको छ। विधेयक समितिमा गएर छलफल होस् र जुन निर्णय हुन्छ, त्यसलाई हामी मान्न तयार छौं,” उनले अन्त्यमा भने ।
























