काठमाडौं, साउन १४ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गरेका तीन मन्त्रीको नियुक्तिलाई लिएर सत्ता साझेदार नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेले ती मन्त्रीहरूलाई तत्काल शपथ नखुवाउन मुख्यमन्त्री लामालाई आग्रह गरेको छ ।
शपथग्रहणको तयारी भइरहेका बेला एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोनमार्फत शपथ प्रक्रिया रोक्न अनुरोध गरेका हुन् ।
साउन १३ गते कांग्रेस बागमती संसदीय दलको नेताबाट हटाइएका लामाले आज गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए।
तर एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन्। नेता थपलियाले अहिलेको संवेदनशील राजनीतिक अवस्थामा शपथ ग्रहण प्रक्रिया अघि बढाउनु उचित नहुने भन्दै त्यसबाट गलत सन्देश जान सक्ने चेतावनी दिएका छन्।
प्रदेशको सत्ता सन्तुलन अस्थिर हुँदै गएको यो अवस्थामा मन्त्री नियुक्ति र शपथ ग्रहणलाई लिएर सत्तारूढ गठबन्धनभित्र नै मतभेद देखिएको स्पष्ट भएको छ।
























