हेटौंडा, साउन १४ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार तीन जना नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्। केही दिनयता मन्त्रिपरिषद्को सदस्यहरूले राजीनामा दिएपछि रिक्त बनेका स्थानहरूमा नयाँ नियुक्ति गरिएको हो ।
साउन १३ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाइएका लामाले आफूविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावका बीच मन्त्रिपरिषद् पुनर्गठन गर्दै आज तीन मन्त्री नियुक्त गरेका हुन्।
साउन ९ र १३ गते गरी पाँच जना मन्त्रीहरूले लामाविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउँदै राजीनामा दिएका थिए। ती मन्त्रीहरू सांसद इन्द्रबहादुर बानियाँको समूहसँग आवद्ध थिए, जसले लामाको नेतृत्वमाथि प्रश्न उठाउँदै अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
नयाँ नियुक्त भएका मन्त्रीहरूमा गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
तीनै मन्त्रीको नियुक्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आज बिहान गरिएको हो। यससँगै लामाले सत्ता जोगाउन र मन्त्रिपरिषद् सन्तुलित राख्न प्रयास थालेका संकेत देखिएको छ।
तर आज संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ । वानियाँ दलको नेता बन्ने निश्चत प्रायः छ । दलको नेता चयन हुने वित्तिकै लामालाई हटाएर वानियाँ मुख्यमन्त्री बन्ने दौडमा छन् । तर लामाले मुख्यमन्त्री बन्न दलको नेता हुनु पर्ने वाध्यता नभएको बताउँदै राजीनामा नदिने अडान राखेका छन् ।
























