काठमाण्डौ, साउन १३ । एनआईसी एशिया बैंकले शेयर धितो राखी सुलभ रुपमा कर्जा लिन चाहने ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले ‘NIC ASIA ATHOT Loan Against Share’ नामक कर्जा योजना औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी हालको अवस्थामा ८.१७ प्रतिशत ब्याजदरमा ल्याएको हो ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारासहित ग्राहक केन्द्रित सेवा विस्तार गर्दै आएको बैंकले शेयर बजारमा लगानी गरिरहेका ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको जानकारी दिएको छ ।
उक्त योजनाअन्तर्गत नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य सार्वजनिक कम्पनीहरूको साधारण शेयर धितो राखेर कर्जा लिन सकिनेछ। कर्जा राशिको गणना १८० दिनको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म हुने व्यवस्था छ।
बैंकका अनुसार ग्राहकले न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। सम्पूर्ण आवश्यक कागजात उपलब्ध गराइएपछि ३ कार्य दिनभित्र कर्जा प्रवाह गर्ने लक्ष्य बैंकले राखेको छ।
सहज, छरितो र उत्तरदायी बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले कर्जा सहायता केन्द्र समेत स्थापना गरेको छ, जसले कर्जा सल्लाह, सुझाव र गुनासोको एकद्वार समाधान प्रदान गर्नेछ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले यस योजनाले शेयर बजारमा सक्रिय लगानीकर्तालाई थप सहजता र प्रोत्साहन दिने विश्वास व्यक्त गरेका छन् ।























