काठमाडौं, साउन १३ । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज बिहान पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामालाई भेटी राजीनामा बुझाएका खड्काले नेपाली कांग्रेसको आन्तरिक विवादसँग जोडिएर मन्त्री पद त्याग गरेका हुन्।
कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध आफ्नै पार्टीका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा मत विभाजन हुन लाग्दा खड्काले मन्त्री पद त्याग्दै बानियाँलाई समर्थन गर्ने निर्णय गरेका हुन्।
खड्का यसअघि २०७९ पुस १३ मा संसदीय दलको नेताका लागि भएको चुनावमा भने लामाको पक्षमा उभिएका थिए। तर अहिले उनले बानियाँको पक्ष रोजेका छन्।
यससँगै बागमती प्रदेश सरकारबाट राजीनामा दिने कांग्रेस मन्त्रीको संख्या पाँच पुगेको छ। यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि राजीनामा दिइसकेका छन्। ती सबै बानियाँ समूहमा छन्।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्। पार्टीभित्रको शक्ति संघर्ष चुलिँदै जाँदा सांसद बानियाँले आफ्नै दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
बानियाँ समूह हाल बहुमत जुटाउन सक्रिय देखिएको छ।
























