पोखरा, साउन १३ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट साउन १० गतेदेखि सम्पर्कविहीन बनेका हायू समुदायका १६ सदस्य पोखरामा फेला परेका छन्। पोखरा महानगरपालिका–३० गगनगौंडामा भेटिएका उनीहरूलाई सोमबार साँझ सम्बन्धित आफन्तको जिम्मा लगाइएको हो।
पोखरा–३० स्थित स्थानीयवासी सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेका ती परिवारका सदस्यलाई धनबहादुर तामाङ र अमिस तामाङले जिम्मा लिएका छन्। धनबहादुर हराएकीमध्येकी कमलाका श्रीमान् हुन्। जिम्मा दिने कार्य पोखरा–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा सम्पन्न गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
पहिले बेपत्ता भएको भनिएको संख्या १६ भए पनि पोखरामा भेटिएका १९ जना हायू समुदायका सदस्य र उनीहरूका नातेदार रहेको प्रहरीले जनाएको छ।
साउन १० गते राति करिब १ बजे, उनीहरू मधेश प्रदेश ०५–००१ज.००८१ नम्बरको इभी भ्यानमा खनियाँखर्क–सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै पोखरा गएका थिए। सोही रात पोखराको लेकसाइडस्थित होटल जननीमा तीन वटा कोठा लिएर बसेका उनीहरूले भोलिपल्ट चेकआउट गरेका थिए।
अन्ततः गगनगौंडास्थित एक घरमा उनीहरू ज्यामी कामको खोजीमा आएको भन्दै आश्रय लिएको पाइएको थियो। प्रहरीले खोजी गर्दा त्यही स्थानमा उनीहरूलाई भेटेको हो।
उनीहरूले आफू बसेको ठाउँ दुर्गम भएको, स्वास्थ्य समस्या हुँदा अस्पताल पुग्न धेरै समय लाग्ने, खाद्यान्न ल्याउनसमेत २४ घण्टा लाग्ने जस्ता समस्याले थाकेर घर छाडेको बताएका छन्। “हाम्रो घर टाढा छ, बिरामी हुँदा उपचार गर्न मुस्किल पर्छ, आफन्त पनि कोही छैन,” प्रहरीले उद्धृत गर्दै जनाएको छ।
सिन्धुली, रामेछाप र कास्की प्रशासनले संयुक्त रूपमा खोजी गरेपछि उनीहरू पोखरामा सुरक्षित अवस्थामा भेटिएका हुन्।

























