काठमाडौं, साउन ७ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच जना नेताहरूमाथि गरिएको कारबाहीका सम्बन्धमा स्पष्टीकरण माग गर्दै राप्रपालाई पत्राचार गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई अवैधानिक रूपमा कारबाही गरेको भन्दै ती पाँचै जना नेताले निर्वाचन आयोगमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आयोगले छानबिन प्रक्रिया अघि बढाएको हो ।
हालै लिङ्देनले पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई हटाएका थिए भने सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसैगरी, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पनि पदमुक्त गरेका थिए ।
त्यसअघि, लिङ्देनले महामन्त्री डा। धवलशमशेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेका थिए ।
आफूहरूमाथि विधानविपरीत कारबाही गरिएको भन्दै पाँचै जना नेताहरूले निर्वाचन आयोग गुहारेपछि आयोगले राप्रपालाई पत्राचार गरेको आयोगकी प्रवक्ता सीता पोखरेलले जानकारी दिएकी छिन ।
























