काठमाडौं, ६ साउन । मधेश क्षेत्रमा देखा परेको पानीको अभाव गम्भीर बन्दै गएपछि राष्ट्रिय सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले मधेशमा पानीको हाहाकार बढ्दो रहेको भन्दै यो समस्या क्रमशः देशका अन्य भागमा पनि फैलन सक्ने चेतावनी दिए।
नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेश सुख्खा क्षेत्रको रूपमा घोषित भइसकेको स्मरण गराउँदै भने, “जनता खानेपानीबाट वञ्चित छन्, पानी बारुण यन्त्रमार्फत पुर्याउनुपर्ने अवस्था आएको छ। सरकारले तुरुन्त गम्भीरता देखाएर समाधानतर्फ लाग्नुपर्छ।”
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले पनि मधेशमा विकराल जलसंकट उत्पन्न भइसकेको भन्दै सरकारलाई तुरुन्त हस्तक्षेप गर्न आग्रह गरे।
उनले भने, “पहिला १८ फिट गहिराइमै पानी पाइन्थ्यो, अहिले कतिपय स्थानमा ३५० फिटसम्म खने पनि पानी नआउने अवस्था छ। यो समस्या मेचीदेखि महाकालीसम्म फैलन सक्ने खतरा छ।”
सांसदहरूले जलस्रोत व्यवस्थापन, भूगर्भीय जलको संरक्षण, तथा वैकल्पिक उपायको तत्काल खोजी गर्न सरकारलाई आग्रह गरेका छन्।
























