काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कामकारबाहीमाथि तत्कालै सार्वजनिक रूपमा आलोचना नगर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन् । मंगलबार आफ्नै निवास बूढानीलकण्ठमा भेट्न गएका नेताहरूसँगको छलफलमा देउवाले सरकारले विस्तारै सुधार गर्ने विश्वास व्यक्त गर्दै अहिले नै कडा प्रतिक्रिया जनाउनु उपयुक्त नहुने बताएका हुन्।
सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंहको चाक्सीबारी निवासमा भएको सात नेताबीचको छलफलको निष्कर्ष सुनाउन नेताहरू देउवालाई भेट्न पुगेका थिए। भेटमा संविधान संशोधन, मन्त्रीहरूमा लागेको भ्रष्टाचार आरोप, र सरकारको समग्र कामकारबाहीबारे पार्टीले स्पष्ट धारणा दिनुपर्ने माग नेताहरूले राखेका थिए।
छलफलमा सहभागी एक नेताले भने, “संविधान संशोधनदेखि मन्त्रीहरूको भ्रष्टाचारसम्मका विषयमा चौतर्फी आलोचना भइरहेका छन्, पार्टी मौन रहँदा क्षति मात्रै भइरहेको छ भनेर हाम्रो भनाइ थियो। तर देउवाजीले अहिले सरकारमाथि प्रश्न उठाएर असर पुर्याउनु हुँदैन, विस्तारै सुधार हुँदै जान्छ भन्नुभयो।”
देउवाले गठबन्धनबीच भएको सात बुँदे सहमति कार्यान्वयन हुने विश्वास पनि दिलाएका छन्। भेटमा सहभागी नेता डा. प्रकाशशरण महतले सरकारलाई प्रभावकारी बनाउन सभापतिसँग छलफल भएको बताए। उनले भने, “सभापतिले सबै कुरा सकारात्मक रूपमा लिनुभएको छ। उहाँले प्रधानमन्त्रीसँग कुरा गर्ने पनि बताउनुभयो।”
आजको भेटमा नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत, र गोपालमान श्रेष्ठ सहभागी थिए। ती सबै १४औं महाधिवेशनमा देउवाको पक्षमा उभिएका नेताहरू हुन्।
पार्टीको आगामी १५औं महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले पुनः उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्। यद्यपि, आजको छलफलमा सभापतिको भावी उम्मेदवार तोक्ने विषयमा कुनै निर्णय नभएको र नेता डा. शेखर कोइरालाको भूमिकाबारे पनि चर्चा नभएको बताइएको छ।

























