काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श, मूल्य र चिन्तन नेपाली कांग्रेस मात्र नभई समग्र मुलुकको मार्गदर्शक भएको बताएका छन् ।
बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालद्वारा आज बिहान बसुन्धारामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले बीपी कोइरालाको जीवन संघर्ष र आन्दोलनमा बितेको उल्लेख गर्दै उहाँका राजनीतिक र साहित्यिक विचारहरू आजको नेपाल निर्माणमा मार्गदर्शन हुने बताए।
उनले भने, “बीपी कोइरालाको सिद्धान्त र मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थानमा ल्याएको हो। राष्ट्रिय एकता, सामाजिक सद्भावजस्ता विषयमा उहाँले दिएको जोड अहिले पनि उत्तिकै सान्दर्भिक छ।”
देउवाले आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था बीपी कोइरालाले नेपालको अपरिहार्य आवश्यकता मानेको स्मरण गर्दै अहिलेको सन्दर्भमा त्यो विचार झनै सान्दर्भिक भएको बताए।
बीपीका कालजयी विचारहरू आत्मसात गर्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने देउवाको भनाइ थियो।

























