काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा अडिएको छ। अघिल्लो दिन आइतबार नेप्से परिसूचक एकल अंकले घटेको थियो।
यसदिन नेप्से परिसूचक उच्च अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३११ स्क्रिप्सको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँमा खरिदबिक्री भए। आइतबार २१ अर्ब माथिको सेयर कारोबार भएको थियो।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढ्यो। ट्रेड टावर र सानभी इनर्जीको सेयर ९.९८ प्रतिशतले बढ्दा उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ९.४० प्रतिशतले बढ्यो।
दुईवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्टको सेयर १० प्रतिशतले घटेको हो। यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९६ प्रतिशतले घट्दा सिन्धु विकास बैंकको ६.३६ प्रतिशतले घट्यो।
७५ करोड ६६ लाख बढीको सेयर कारोबार गरी नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। यसैगरी हिमालयन रिइन्स्योरेन्सले ७५ करोड २८ लाखको सेयर कारोबार गर्दा बुटवल पावरको ५६ करोड,फ्रस्ट माइक्रो फाइनान्स लघुवित्तवित्तीय संस्थाको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १५३ वटा स्टक्सको मूल्य बढ्दा ९६ वटाको घट्यो। यसदिन १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। डेभलपमेन्ट,माइक्रोफाइनान्स,नन लाइफ इन्स्योरेन्स र अर्दश समूहको उपसूचक १ प्रतिशतले बढीले वृद्धि भयो।
























