काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै संस्थापन पक्षका सात जना वरिष्ठ नेताहरू छुट्टै रणनीतिक छलफलमा जुटेका छन् । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेको बैठकमा आगामी महाधिवेशनमा साझा धारणा बनाउने विषयमा केन्द्रित छलफल भएको हो ।
छलफलमा प्रकाशमान सिंहसँगै वरिष्ठ नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत र विजयकुमार गच्छदार सहभागी भएका छन् ।
नेताहरूबीच यसअघि भएका अनौपचारिक बैठकको निरन्तरता स्वरूप आयोजित छलफलमा महाधिवेशनमा नयाँ नेतृत्व चयन, संभावित सहमति तथा आगामी राजनीतिक समीकरणबारे विचारविमर्श गरिएको बताइएको छ।
देउवामाथि उत्तराधिकारी चयनको दबाब
संस्थापन पक्षभित्रकै यी नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनका लागि आफूभित्रबाटै उत्तराधिकारी चयन गर्न दबाब दिँदै आएका छन् । यसै सन्दर्भमा केही समयअघि उनीहरू देउवाको निवास बुढानीलकण्ठ पुगेर संयुक्त सन्देश दिएका थिए । तर देउवाले हालसम्म स्पष्ट रूपमा उत्तराधिकारी तय गरिसकेका छैनन् ।
प्रदेशस्तरीय अन्तक्रियाको तयारी
बैठकमा सहभागी नेताहरूले सातै प्रदेशमा अन्तक्र्रियात्मक कार्यक्रमहरू गर्ने तयारी गरेका छन्। सोमबारको छलफलमा त्यस सम्बन्धी कार्ययोजना र कार्यक्रमको प्रारूपबारे पनि छलफल भएको छ। काठमाडौंबाट पहिलो अन्तक्रिया कार्यक्रम सुरू गरेर क्रमशः अन्य प्रदेशमा जाने तयारी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
“महाधिवेशनमा मिलेर अघि बढ्ने सहमति बनाउने प्रयासमा छौं,” ती नेताले भने, “प्रदेश–प्रदेशमा अन्तक्रिया गर्दै संस्थागत सन्देश दिन चाहन्छौं।”
























