काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक समृद्धि हासिल गर्न नीतिगत सुधार मात्र होइन, सम्पूर्ण राज्य संयन्त्रको सोच्ने तरिकामै परिवर्तन आवश्यक रहेको बताएका छन् ।
सोमबार आफ्नै निवास खुमलटारमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटका क्रममा उनले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारको रूपमा स्वीकार गर्दै, तिनलाई सहज वातावरणमा काम गर्न दिने नीतिहरू आवश्यक रहेको उल्लेख गरे ।
“राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिनेगरी नीतिगत सुधार नगरी समृद्धि सम्भव छैन,” प्रचण्डले भने, “राज्यले नियन्त्रण होइन, सहजीकरण गर्ने भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ ।”
उनले निजी क्षेत्रप्रति सकारात्मक र सहकार्यपूर्ण दृष्टिकोण विकास गर्न राज्यका सबै तहहरू तयार हुनुपर्ने आवश्यकता पनि औँल्याए ।
उद्योग परिसंघका प्रतिनिधिहरूले पनि देशको आर्थिक उन्नतिमा निजी क्षेत्रले खेलेको भूमिका र प्रचण्डको प्रधानमन्त्री कार्यकालमा बनेको सहकार्यपूर्ण वातावरणको स्मरण गर्दै भविष्यमा समेत त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
























