विराटनगर । कुनै समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकटस्थ मानिएका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पहिलोपटक विराटनगरस्थित कोइराला निवास पुगेका छन् ।
बुधबार बिहान डा. शेखर कोइरालाको निवासमा पुगेका खाँणले पत्रकार सम्मेलनसमेत गर्दै आफू गुट परिवर्तनमा लागेको भने नबताए पनि, उनको उपस्थितिलाई कांग्रेसको आन्तरिक राजनीति सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ । कोइराला समूहका नेताहरू भने खाँणको आगमनबाट उत्साहित देखिएका छन् ।
कांग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाको निवासको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै खाँणले यो स्थानलाई “गुटको केन्द्र नभई साझा पवित्र भूमि” भएको दाबी गरे। “यहाँ बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद कोइरालाजस्ता महामानव बस्नुभएको स्थान हो,” उनले भने, “यो हाम्रो लागि धार्मिक स्थलजस्तै पवित्रस्थल हो। यसलाई गुटको रूपमा हेर्नु अनुचित हुन्छ।”
पार्टी महाधिवेशनबारे उनले कांग्रेस विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थप गरेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने प्रावधान रहेको स्पष्ट पारे ।
अनुशासनका विषयमा बोल्दै खाँणले पार्टीभित्र कारबाही प्रक्रिया स्वाभाविक भए पनि त्यसमा निष्पक्षता हुन आवश्यक रहेको बताए । “कुनै पनि पार्टीको जिम्मेवार निकायले पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन,” उनले भने।
सभापति देउवासँगको दूरीका सवालमा खाँणले स्पष्ट रूपमा केही नबताए पनि पार्टीलाई बलियो बनाउन सबैले मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरे। “कांग्रेस कमजोर हुँदा केवल नेताहरू होइन, देशको प्रजातान्त्रिक प्रणाली नै कमजोर हुन्छ,” उनले जोड दिए ।
























